नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख राजस्व छल्ने फर्म बिरुद्ध मुद्दा दायर
काठमाडौं,मंसिर ११ । नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख बढी राजस्व छल्ने फर्म राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको उज्ज्वल ट्रेड कन्सर्न, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दिव्या ट्रेड कन्सर्न, हिलिहाङ्ग गाउँपालिका वडा नम्बर ७ को टोनी कन्सर्न ट्रेडका सञ्चालक प्रदिप शाह गोढले वस्तु तथा सेवाको प्रयोग नगरी झुट्टा तथा नक्कली मु.अ.कर बिजक जारी गरी ९ करोड १८ लाख ९९ हजार ३४९ मूल्य अभिवृद्धि कर र २० करोड ५८ लाख ७५ हजार १५० रुपैयाँ आयकर गरी कुल २९ करोड ७७ लाख ७४ हजार ४९९ रुपैयाँ राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको हो ।
उक्त रकम असुल गरी निज कम्पनी माथि कारबाही गर्न विभागले उच्च अदालत पाटनमा कम्पनी विरुद्ध शुक्रवार मुद्दा दायर गरेको छ । साथै, उक्त फर्महरूको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व छली गर्ने कार्यमा सहयोगी गर्ने मतियार लेखापरीक्षकलाई समेत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन समेत) बमोजिम मुख्य प्रतिवादीहरूलाई हुने सजायको आधा सजाय दिन समेत विभागको माग रहेको छ ।