रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा महाधिवेशन उद्घाटन
काठमाडौं,मंसिर १० । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गरेका हुन् ।
उनले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् । एमालेले पहिलोपटक रिमोर्ट थिचेर झण्डोत्तलनको नयाँ प्रयोग गरेको छ । ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालितरूपमा एकसाथ माथि उठेका थिए ।
उद्घाटन सत्रमा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । महाधिवेशनमा एमालेले पाँच लाख नेता तथा कार्यकर्ता सहभागी गराउने बताउँदै आएको छ । महाधिवेशनमा एमालेको निम्तो स्वीकार गरेर भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि आएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।