हिंसा व्यक्तिको सर्वाङ्गीण विकासमा बाधक



काठमाडौ,मंसिर ९ । मङ्सिर ९–२४ (नोभेम्बर २५–डिसेम्बर १०) सम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूूलक कार्यक्रम आयोजना गरी हिंसा अन्त्यका लागि आवाज बुलन्द गरिँदै आएको छ ।यस सन्दर्भमा नेपालमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगसहित महिला तथा किशोरीको क्षेत्रमा काम गर्ने थुपै्र सङ्घसंस्थाले बिहीबारदेखि १६ दिनसम्म हिंसाविरुद्ध विविध कार्यक्रम गर्दै छन् ।

नेपालले लैङ्गिक हिंसाविरुद्धको अभियानका लागि यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा तय गरेको छ भने ‘अरेन्ज द वल्र्ड ः इन्ड भ्वाइलेन्स एगेन्स् वुमन नाउ’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको छ । सरकारले सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाउने उद्देश्यले सङ्घ, प्रदेश, जिल्ला समन्वय समिति, ७५३ स्थानीय तहदेखि वडास्तरीय, विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्न आह्वानसमेत गरेको छ । अभियानको सन्दर्भमा १६ दिनसम्म देशभर लैङ्गिक हिंसा निवारणका असल अभ्यास, न्यायको पहुँच, महिलामाथि हिंसा हुने हानिकारक अभ्यास, कोभिड–१९ को असरलगायतका विषयमा अन्तरक्रिया गरिनेछ । साथै सन्देशमूूलक होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सन्देश दिएर महिला हिंसाविरुद्ध जागरणमूूलक कार्यक्रम आयोजना गरिने भएको छ ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले अभियानकै सन्दर्भमा महिला हिंसाविरुद्ध विद्रोह गर्ने अग्रणी महिला योगमाया न्यौपानेको स्मरण गरिने बताउनुभयो । अध्यक्ष पराजुलीले अन्तर्राष्ट्रिय रूपमा अभियान मनाउनुमा प्याट्रिया, मिनर्भा र मारिया नामक दिदीबहिनीको साहस र योगदान रहे पनि नेपालका योगमायाको योगदान अतुलनीय रहेको बताउनुभयो । योगमायाले लैङ्गिक समानताको मुद्दा स्थापित गर्नु अतुलनीय रहेको छ । अभियानका क्रममा समानताको न्यायको माग गर्दै वि.सं. १९९८ असार २२ गते तत्कालीन राणा शासनलाई चुनौती दिएर विद्रोहस्वरूप अरुण नदीमा अनुयायीसहित जलसमाधि लिएकै स्थानमा पुगेर उहाँको त्याग, समर्पणको सम्झना गरिने तयारी छ ।

अभियानको सुरुवात
नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तीन साहसिक दिदीबहिनी (प्याट्रिया, मिनर्भा र मारिया)ले समानताको आवाज उठाउँदा त्यहाँको तत्कालीन तानाशाहको निर्देशनमा उनीहरूको हत्या भएको थियो । ल्याटिन अमेरिकी देशहरूले तीन दिदीबहिनीको साहसको कदर गर्दै २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थाल्यो ।त्यसको तीन दशकपछि १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने घोषणा ग¥यो । त्यसपछि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका दिनलाई हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा विश्वभर जागरणमूूलक कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ । नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाइँदै आएको छ ।

महिलाविरुद्धको हिंसा
हिंसाले व्यक्तिको सर्वाङ्गीण विकासमा बाधा पार्छ । यसबाट व्यक्ति, परिवार, समाज र देशकै प्रगतिमा समेत असर पुग्छ । यस्ता गतिविधिको अन्त्य घरबाटै सुरु गर्नुपर्ने नारासहित यस वर्षको महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ ।

महिलाविरुद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य हो; जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँछ । त्यसैगरी महिलाले पारिवारिक जीवनदेखि सार्वजनिक क्षेत्रमा विविध हिंसाको सामना गर्नु परेको स्थिति छ । हिंसाले महिला प्रभावित हुनु भनेको घर, परिवार र अन्त्यमा देशलाई नै विकासको गतिमा पछि धकेल्ने काम हो भन्नुहुन्छ– महिला आयोगका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुङ्गाना ।
आयोगका अनुसार महिलाविरुद्ध हुने हिंसामध्ये घरेलु हिंसा मुख्य छ । परिवारका सदस्यले दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना घरेलु हिंसा हो । आयोगमा ११४५ हेल्प लाइनको व्यवस्था भएपछि विगत चार वर्षमा पाँच हजार ५१५ हिंसाका उजुरी दर्ता भएका छन्, तीमध्ये ८७ प्रतिशत घरलु हिंसाको रहेको छ ।

तथ्याङ्कअनुसार घरेलु हिंसाबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, कम पढेका र आर्थिक रूपले परनिर्भर महिला बढी प्रभावित छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्