स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन हुने



काठमाडौं,मंसिर ८ । निर्वाचन आयोगले ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न ४० इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलनलाई निरन्तरता दिँदै स्थानीय तहको केन्द्रमा समेत संकलन कार्यक्रम शुरू गर्ने भएको छ ।     

आयोगले यही मंसिर १७ गतेदेखि उल्लिखित कार्यालय रहेका स्थानीय तहबाहेकका ६३७ स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम अभियानका रूपमा शुरू गर्न लागेको जनाएको छ । मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाडाँं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्माद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

२०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनी व्यवस्थाबमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएको छ । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका कोही पनि नेपाली नागरिक मताधिकारबाट वञ्चित हुन नपरोस् भनी आयोगले सो अभियान सञ्चालन गर्न लागेको हो । संकलन कार्य हरेक जिल्लामा दुई चरणमा हुने भएकाले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । उक्त नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन कार्य हुने विज्ञप्तिमा उल्लेख छ ।

आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ । विभिन्न रोजगारी वा अध्ययनको क्रममा आफ्नो जिल्लाबाहिर रहेका नागरिकलाई समेत सहज रूपमा मतदाता दर्ता प्रक्रियामा सहभागी गराउन मंसिर १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकको समेत मतदाता नामावली संकलन कार्य शुरू गरिने आयोगले बताएको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रममा देशभर करीब दुई हजार ३०० कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । २०७८ पुस २० गतेभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्