नुवाकोटको प्रसिद्ध पञ्चकन्या मन्दिरमा लाग्ने दुई दिने मेला आजदेखि
नुवाकोट, मंसिर ७ । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को प्रसिद्ध पञ्चकन्या मन्दिरमा आज मंगलबारदेखि दुई दिने मेला सुरु हुँदै छ ।
घलेभन्ज्याङभन्दा २ सय मिटर पूर्वोत्तरमा अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्णपक्ष चतुर्थी र पञ्चमीका दिन मेला लाग्ने गर्दछ । विगतका वर्षमा दुई दिनसम्म व्यापक रुपमा जात्रा चल्ने गरे पनि पछिल्लो वर्षमा कोरोना महामारीका कारण सामान्य रुपमा पूजाआजामा सिमित हुँदै आएको थियोे। यस वर्ष भने कोरोना महामारी संक्रमण समेत कमि हुँदै गएकाले मेला विशेष हुने मन्दिर संरक्षण समितिले जनाएको छ।
यस वर्ष झाँकी व्यवस्थापन, कलाकार सम्पर्क समिति, सांस्कृतिक कार्यक्रमका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसार समितिलगायत विभिन्न तयारी समेत गाउँपालिकाले गरेकाले मेला विशेष हुने बुझिएको छ। गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङका अनुसार चर्चित तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थिति हुनेछ। मेलामा चर्चित हास्य कलाकार सुबोध गौतमदेखि लाइभ दोहोरीकी शुशिला लामासम्मको प्रस्तुति रहनेछ। कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका सम्पुर्ण कलाकारहरुलाई सम्मान समेत गरिने गाउँपालिकाको कार्यालय पञ्चकन्याले जनाएको छ।
मन्दिरका मूल पूजारी लालबहादुर तामाङका अनुसार गाउँका धामी झाँक्री नाच, मादी (बत्ती) बाल्ने, पूजाआजा लगायत नियमित कार्यक्रम मन्दिरमा बढ्ने अपेक्षा गरिएको छ।मेलाका लागि मन्दिर परिसर क्षेत्रमा सरसफाई समेत गरिएको छ भने स्थानीयले पसल पनि राख्न थालिसकेका छन् । यस वर्ष मंगलबार र बुधबार चल्ने मेलामा स्थानीय, पञ्चकन्या गाउँपालिकाका र अन्य शिवपुरी, दुप्चेश्वर, लिखुसहित काठमाडौंबाट समेत दर्शनार्थी भेला हुने गर्दछन् । सोही मन्दिरको नामबाट गाउँपालिकाको नामसमेत राखिएको हो ।
पञ्चकन्या मन्दिर परिसरमा रहेको सप्तकन्या थानमा स्थानीयले बलि दिने चलन छ । रोग हरण हुने र मनले चिताएको पुग्ने विश्वासले भाकल गर्ने, गाउँको देउतालाई बुझाउन भनेर नियमित पूजाको रुपमा बोका, कुखुरा, राँगा, लगायतको बलि चढाउने चलन पनि रहँदै आएको छ । यस वर्षको मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने ‘पाँचकन्या मेला २०७८ तथा बृहत् साँस्कृतिक साँझ ” विशेष आकर्षण मानिएको छ।