सिँचाइ अभियानलाई पूूर्णता दिने प्रतिबद्धता
काठमाडौं,मंसिर ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषिका दृष्टिकोणले अत्यन्तै उर्वर मानिने सुनसरीको दक्षिणी क्षेत्रमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले २०१५ सालमा सुरु गर्नुभएको सिँचाइ अभियानलाई पूूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बीपी कोइरालाले तत्कालीन समयमा चन्दामोहन सिँचाइ योजनाको अवधारणा अगाडि सार्नुभएको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री देउवाले सुनसरीका दक्षिणी क्षेत्रका किसानका लागि सुनसरी खोलामा प्रभावकारी सिँचाइको व्यवस्था गर्न सरकारले आगामी पूरक बजेटमा रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सुनसरीको दक्षिणी सीमावर्ती देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले सुनसरी र मोरङका कृषियोग्य जमिनमा सिँचाइ सुविधालाई विस्तार गर्ने क्रममा अगाडि सार्नुभएको सुनसरी खोला सिँचाइ आयोजनालाई पूूर्णता दिन हामी प्रतिबद्ध छौँ ।”
नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक कर्म भूूमिका रूपमा परिचित सुनसरीको दक्षिणी क्षेत्रमा सिँचाइ सुविधाका लागि कोइरालाले तत्कालीन समयमा सुनसरी खोला सिँचाइ आयोजना सुरु गरे पनि त्यस समयपछिका कुनै पनि सरकारको ध्यान नपुग्दा लामो समयदेखि बीपीले परिकल्पना गरेको सिँचाइ सुविधाको अभावमा यस क्षेत्रका किसान पीडित छन् ।
प्रधानमन्त्री देउवाले देवानगञ्ज गाउँपालिकाको कौवाखोज छोटी भन्सारलाई ठूूलो भन्सारका रूपमा स्तरोन्नतिका लागि समेत बजेट विनियोजन गरिने आश्वासन दिनुभयो । कार्यक्रममा वक्ताहरूले यस क्षेत्रमा रहेको छोटी भन्सारको गतिविधि प्रभावकारी नभएको र सीमावर्ती क्षेत्रबाट अवैध चोरी निकासी पैठारी र तस्करीका घटना बढेसँगै राज्यलाई राजस्व असुलीमा ठूलो नोक्सानी भएको सन्दर्भमा जोडेर व्यक्त अभिव्यक्तिका सवालमा प्रधानमन्त्री देउवाले सो आश्वासन दिनुभएको हो ।
स्वस्थ प्रतिस्पर्धा गरौँ
काँग्रेसका सभापति देउवाले स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्न आग्रह गर्दै चुनावमा हार जित हुने हुँदा त्यसलाई दुश्मनीका रूपमा नलिई सहजताका साथ लिएर पार्टीलाई अझ बलियो बनाउन नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
देवानगञ्ज गाउँपालिकाको नवनिर्मित नमुना भवनको उद्घाटन गरिरहँदा यस गाउँपालिकाले विकास र विस्तारको क्षेत्रमा धेरै नमुना कार्य गरेको जानकारी पाएको बताउनुहँुदै उहाँले यस गाउँपालिकाले गरेको उदाहरणीय कामबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
राज्यसत्ताको दुरुपयोग हुँदैन : मन्त्री कार्की
कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई आस्थाको आधारमा र कहिल्यै पनि राज्यसत्तालाई दुरुपयोग नगर्ने र सुशासनद्वारा देशलाई शासित गर्ने बताउनुभएको छ । तत्कालीन केपी ओलीको सरकारका कारण संविधानमाथि आक्रमण गरिँदै देश अधिनायकवादको बाटोमा जान लागेपछि नेपाली काँग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण गरेर अधिनायकवादको अन्त्य गर्दै संविधानको रक्षा गर्ने काम भएको बताउनुभयो ।
उहाँले पाँच दलीय गठबन्धनको सरकारको सन्दर्भको चर्चा गर्दै अगाडि भन्नुभयो, “देशमा कानुनी शासन र सुशासन स्थापनाका निमित्त यो सरकार प्रतिबद्ध छ । ” उहाँले अगाडि भन्नुभयो, “यो अवसरलाई हामीले बलियो बनाउँदै काँग्रेसलाई देशको लोकप्रिय र शक्तिशाली पार्टी बनाउन आजको आवश्यकता छ र यस अभियानलाई सबै पक्ष लाग्नु जरुरी छ ।
मन्त्री कार्कीले काँग्रेसको १४औँ महाधिवेशनको चर्चा गर्दै सबैका लोकप्रिय नेता पार्टी सभापति देउवालाई पुनः पार्टी सभापतिमा अत्यधिक मतले निर्वाचित गराउनुपर्ने विचार पनि व्यक्त गर्नुभयो । पार्टीको महाधिवेशनको चरणपछि देश निर्वाचनको चरणमा जाने र त्यो निर्वाचनमा काँग्रेसलाई सुदृढ तथा प्रभावकारी पार्टी बनाएर जनताको पूर्ण अभिमत लिएर आगामी पाँच वर्ष नेपाली काँग्रेसको सरकार बनाएर जनताको इच्छा अभिलाषा पूरा गर्ने अभियानमा साथ दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपसभापति विजयकुमार गच्छदारले सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मधेसी, मुस्लिमलगायत गरिब तथा विपन्न वर्गको उत्थानका लागि प्रभावकारी योजना अगाडि ल्याउन सरकारसमक्ष आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रतिनिधि सभा सदस्य सीताराम मेहता, प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता तथा काँग्रेस सुनसरीका सभापति राजीव कोइराला, युवा नेता सन्तोषकुमार भगतलगायतले आआफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रम देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताको अध्यक्षतामा भएको थियो ।
देवानगञ्ज गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा नौ करोड रुपियाँको लागतमा तीनवटा हलसहित २६ कोठा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूूडामणि गुरागाईंले जानकारी दिनुभयो । यसैगरी प्रधानमन्त्री देउवाले देवानगञ्ज गाउँपालिकाकै वडा नम्बर–१, मध्यहर्षाहीमा निर्माण सम्पन्न गरिएको जननायक बीपी कोइरालाको सालिक अनावरणका साथै बीपी स्मृति भवनको समेत उद†घाटन गर्नुभयो ।