प्यूठानमा नागरिकता बनाउनेको भिड



प्युठान,मंसिर ४ । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढ्दो छ ।  चाडपर्वको विदा र खेतिपातिको कार्य सकिएपछि प्रशासनमा भिड बढ्दै गएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । दैनिक एक सयको हारहारीमा सेवाग्राही आउने गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिए । हरेक वर्ष दसैं–तिहारकोसंगै खेतिपाति भित्राइसकेपछिको समयमा जिल्ला प्रशासन कार्यालयमा यसैगरी नागरिकता, राहदानी बनाउने, नाता प्रमाणित गर्ने जस्ता कामका लागि सेवाग्राहीको चाप बढ्ने गरेको पाइन्छ ।

जिल्ला प्रशासन कार्यालय प्यूठानमा पनि नागरिकता, राहदानी सहित विभिन्न सेवा लिनेहरुको चाप बढेको छ । यहाँ अन्य समयमा दैनिक ४० देखि ५० जनाले नागरिकता, २० भन्दा बढीले प्रतिलिपी लिने गर्दछन् । अहिले चाडपर्बको विदा संगै खेतिपातिको कार्य सकिएर कार्यालय खुलेपछि एकै दिन १ सय बढीले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्याल्य प्यूठानका कार्यालय सहयोगी सन्तोष अधिकारीले जानकारी दिए । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिकता र राहदानी बनाउनेहरुको चाप बढने गर्दछ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी बनाउन आउने भएकाले अन्य समयमा भन्दा बढी चाप हुने गरेको छ ।

जिल्ला बाहिरका सहर तथा विदेशमा रहेका अधिकांश जिल्लावासीहरु दसैं–तिहारका बेला घर फर्किने गरेकाले यही मौकामा प्रशासनिक कामकाज सकेर फर्किने गरेको कर्मचारीहरु बताउँछन् । प्यूठान जिल्लामा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३० प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ । नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै जाँदा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावित पारिरहेको प्रमुख जिल्ला अधिकारी भुषालले बताए । यहाँ यस आर्थिक वर्षको तीन महिनामा मात्र दुइ हजार २ सय बढीले नयाँ नेपाली नागरिकता लिएका छन् । असोजमा ४ सय १३ जनाले नयाँ नागरिकता बनाएका छन् भने ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । त्यस्तैकार्तिक महिनामा नयाँ नागरिकता ८५३ र प्रतिलिपिल ४ सय ४९ ले लिएका छन । उता राहादानी बनाउनेको सङख्यामा पनि बृद्धि भएको छ । गत असोज महिनामा २०६ जनाले राहादानीको लागी आबेदन दिएकोमा यो सङख्या बडेर कार्तिक महिनामा ६८३ पुगेको छ । असोजमा १५२ जनाले जिल्ला प्यूठानमा दर्ता गरेका थिए भने ५४ जनाले दुत्र सेवाको लागी दर्ता गरेका थिए । जसमध्य महिला ३१ जना र पुरुष १७५ जना रेहेकोजिल्ला प्रशासन कार्यालयका नासु महेन्द्र बिष्टले जानकारी दिए । त्यस्तै कार्तिक महिनामा ४४ जना महिला र ५१४ जना पुरुषले राहदानिको लागी आबेदन दिएको नासु बिष्टले बताए ।

कार्यालयका अनुसार विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन् । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, नाबालक परिचयपत्र, अन्य सिफारिस लिने गरेका छन् । प्रशासनबाट नागरिकलाई सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइटर प्रयोग गर्ने भनिए पनि अधिकासं सेवाग्राहीहरुले भने व्यवास्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्