माधव नेपालले भने,– हामीलाई एमालेको महाधिवेशनमा पाहुन बन्नु छैन, चासो पनि छैन
चितवन,मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई एमालेको महाधिवेशनमा पाहुना बन्न आवश्यक नरहेको बताएका छन् ।
भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानाी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । चितवनमा हुँदै गरेको नेकपा एमालेको महाधिवेशनमा नेकपा एसलाई नबोलाउने भन्ने कुरा छ नी भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यो आफ्नो चरित्रलाई आफै उजागर गर्ने काम भएको बताए ।
आफूहरुलार्ई महाधिवेशनमा कसैको पाहुना बन्न आवश्यक नरहेको बताउँदै उनले भने, ‘हामी आफ्नै काम र धुनमा व्यस्त छौं ।’ उनले नेकपा एमाले अब इतिहासको विषय बन्ने बताउँदै नेकपा एस उदाउँदै जाने दाबी गरे ।
अहिले आफूहरुको एजेण्डा पार्टी बनाउनेतर्फ रहेको उनले बताए । उनले भने, ‘नेकपा एसको नाम सुन्ने बित्तिकै धेरै मान्छे डराउन थालेका छन् । किनकी सारा जनता र पार्टीको ध्यान यो पार्टीमा परेको छ । यो पार्टीको विकास देखेर धेरैमा ईष्र्या पलाएको छ ।’
उनले नेकपा एसले अबको निर्वाचनमा सबैतिर जित्ने पनि दाबी गरेका छन् । न्यायालयको विवादका बारेमा बोल्दै नेपालले यस विषयमा प्रधानमन्त्री र राजनैतिक दलले पनि एउटा निष्कर्ष निकाल्नुपर्ने बताए ।