अमेरिकी सहायक विदेशमन्त्री लू र प्रम देउवाबीच भेटवार्ता



काठमाडौं,मंसिर ३ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । तीनदिने भ्रमणका लागि बुधवार साँझ नेपाल आएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने मन्त्री लुले बिहीवार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालका अनुसार द्विपक्षीय सम्बन्ध, कोभिडले पारेको असर, पोस्ट कोभिड इकोनोमी रिकभर र कोभिडविरुद्धको भ्याक्सिन सहयोगबारे छलफल भएको छ ।

भेटमा कोप–२६ को सम्मेलनमा आफूले राखेका विषयबारे पनि प्रधानमन्त्री देउवाले चर्चा गरेका छन् । उक्त भेटका क्रममा लुले नेपाललाई कार्बन उत्सर्जन कम गर्ने कामका लागि सहयोग गर्ने वचन दिएको पौड्यालले बताए । यस्तै प्रधानमन्त्री देउवाले ट्विट गर्दै अमेरिकी सहायक विदेशमन्त्री लुसँग लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा विचार आदानप्रदान भएको बताएका छन् ।

सहायक विदेशमन्त्री लुले  शुक्रवार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ । अमेरिकी सहयोगमा नेपालमा सञ्चालित परियोजनाको अवलोकन गर्ने उद्देश्यले लु नेपाल भ्रमणमा आएका हुन् । लुले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदास्थलहरूको समेत अवलोकन गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहीवारै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौं आइपुगेकी छिन् ।  उनले पनि सरकारी अधिकारी र नागरिक समाजका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएको छ । अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्