बौडेश्वर मन्दिरमा बिहीबार भव्य मेलाको तयारी
काठमाडौं,मंसिर १ । टोखा नगरपालिका वडा नम्बर १ मा रहेको बौडेश्वर महादेव मन्दिरमा बिहीबार भव्य मेला लाग्ने भएको छ।
मेला आयोजक समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिने लाग्ने विशेष मेलामा अन्य वर्षको तुलनामा विविध मनोरञ्जनात्मक कार्यक्रम तय गरिएको हो। यस वर्ष लोकोन्मुख भजन किर्तन, चुट्का, लोक खैचडी भजन लगायत अन्य लोकदोहोरी कार्यक्रमको समेत तयारी गरिएको छ।पछिल्लो हप्ता मेलामा उपस्थित हुने श्रद्दालु भक्तजनको सुरक्षार्थ टोखा नगरपालिका वडा नम्बर १ ले सिढी छेउछाउमा रेलिङ तथा बिजुलीबत्ति समेत लगाइ सकिएको वडाध्यक्ष्य श्रीकृष्ण अधिकारीले बताए।
नेपालका चर्चित गुफाहरुमध्ये टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको बौडेश्वर महादेवको गुफा भगवान शिवको गुप्तरुपमा यहाँ लुकेर बसेको किवदन्ती रहदै आएको छ । कैयौं वर्षदेखि उचित संरक्षण तथा प्रचारप्रसारको कमीले यो पवित्र गुफा तथा मन्दिर ओझेलमा परेको बताइएपनि यस वर्ष भने उत्साहप्रद कार्यक्रमका साथ मेला समापन गर्ने लक्ष्य मन्दिर संरक्षण समितिले राखेको छ।