चालक अनुमतिपत्रका लागि आवेदन दिने तीन सातामा चार लाख



काठमाडौं,कात्तिक ३० । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको संख्या तीन सातामै झन्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो । दुई वर्षयता नियमित रूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले बताएको छ ।

कात्तिकभन्दा पहिलेसम्म झन्डै २ लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या ६ लाख हाराहारीमा पुगेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमित रूपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रूपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा. भुसालले बताए ।

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनः खुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।

गतवर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले बताएको छ । ‘अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन,’ उनले भने ।

विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गतवर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनः बढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमित रूपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्