हस्तकला सामग्रीको निर्यात ५० प्रतिशतले घट्यो
काठमाडौं,कात्तिक ३० । हस्तकला सामग्रीको निर्यात व्यापार ५० प्रतिशतले घटेको छ । संसारभर फैलिएको कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन पुग्दा हस्तकला सामग्रीको निर्यातमा गिरावट आएको बताइएको छ । निर्यात व्यापार र पर्यटन क्षेत्रसँग सम्बद्ध व्यापार भएकाले कोरोना महामारीले यसलाई प्रत्यक्ष रूपमा असर गरेको हो ।
नेपाल हस्तकला महासंघका अनुसार कोरोना महामारी शुरू हुनुअघि प्रत्येक वर्ष नेपालबाट विश्व बजारमा १० देखि १२ अर्ब रुपैयाँ बराबरको हस्तकला सामग्रीको निर्यात हुने गर्दथ्यो । तर, करीब २ वर्षदेखि कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नै आक्रान्त पारेपछि हस्तकलाको निर्यात व्यापार पनि करीब ५० प्रतिशतले घट्दै ६ अर्ब जतिमा सीमित भएको छ ।
महासंघका मेला समिति संयोजक रवीन्द्र शाक्यले महामारीका कारण व्यापार संकुचन भएर ५० प्रतिशतमा सीमित हुन पुगे पनि व्यवसाय धराशयीतर्फ नजाने कुरामा आफू ढुक्क रहेको बताए ।
महामारीले दिएको चोटलाई अवसरमा बदल्दै व्यवसायलाई नयाँ तरीकाले सञ्चालन गर्न महासंघले ई–कला नेपाल नामक अनलाइन पोर्टलसमेत सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए ।
उक्त अनलाइन पोर्टलचाहिँ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको अवसरमा सञ्चालनमा ल्याइनेछ ।
नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार वार्षिक रूपमा नेपालको आन्तरिक बजारमा रू. ६ अर्ब बराबरको हस्तकलाका सामग्री विक्री हुने गर्छन् । नेपाली हस्तकला सामग्रीको ठूलो बजार भनेको अमेरिका, चीन र अन्य यूरोपेली मुलुकहरू नै हुन् । आर्थिक अभियानबाट