मोतीपुर र सन्धिखर्क सबस्टेसन पुसभित्र सञ्चालनमा आउने
काठमाडौं,कात्तिक २९ । कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२र३३र११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी मंसिर १५ र पुस १५ भित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ।
बुर्तिबाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। सबस्टेसनमा ३० र १६ एमभिएका पावर ट्रान्सफर्मरहरु रहने छन्। सबस्टेसनका सम्पूर्ण उपकरणहरको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ।
पूर्व–पश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिने छ। यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ। आयोजना अन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ। ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाँगिएको छ।
यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ। प्रसारण लाइनको निर्माण अगामी पुस १५ भित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ। मोतीपुर–सन्धीखर्क प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ। यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ। विद्युतको प्राविधिक चुहावट पनि कम हुने छ। अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ। ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जाने र भोल्टेजको समस्या छ। साथै प्राविधिक चुहावट पनि छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताए।