तारे होटेलमा ‘चेन ब्रान्ड’ थपियो ५ अर्ब लगानीको हायात प्लेस सोमवारदेखि खुल्ने



काठमाडौं,कात्तिक २८। कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै बीच पाँचतारे होटेलमा अर्काे नयाँ अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘हायात प्लेस’ थपिएको छ । व्यवसायलाई विविधीकरण गर्दै आएको गोल्यान समूहको लगानीमा काठमाडौंको सोल्टीमोडस्थित ‘हायात प्लेस काठमाडौं’ सञ्चालनमा आएको हो ।

पाँच तारेस्तरको उक्त होटेलको शनिवार औपचारिक उद्घाटन गरिएको छ । रू. ५ अर्ब लगानीमा उक्त होटेल निर्माण भएको हो । कोरोना भाइरस संक्रमण कायमै रहेका बेला यो होटेल सञ्चालनमा आएको छ ।

कोरोना भाइरस संक्रमण घट्दो र पर्यटक पनि आउन थालेको हुँदा होटेल सञ्चालनमा ल्याएको ग्रूपका अध्यक्ष पवन गोल्यानले बताए । केही समयअघि सरकारले पर्यटकका लागि नेपाल खुला गरेसँगै पर्यटकीय सिजन अक्टोबरमा नेपालमा धेरै पर्यटक आएका छन् । नेपालको पर्यटन क्षेत्रल २०१९ को अवस्थामा आइपुग्न सन् २०२५ सम्म कुर्नुपर्ने आकलन व्यवसायीहरूको रहेका बेला अन्तरराष्ट्रिय चेन ब्रान्ड होटेल सञ्चालनमा आएको छ ।

‘होटेल सञ्चालन गर्न हामी २ वर्ष ढिला भइसकेका छौं,’ उनले भने, ‘होटेल निर्माण थालेको झन्डै ६ वर्ष भइसक्यो, कोरोना भाइरसका कारण २ वर्ष निर्माणमा ढिला भएको हो ।’ २०७३ मा ३ वर्षभित्र होटेल सञ्चालन गर्ने भनिए पनि कोरोनाका कारण थप २ वर्ष ढिलाइ भएको उनको भनाइ छ । चेन ब्रान्ड भएको हुँदा विदेशी पर्यटक लक्षित भए पनि यहाँ स्वदेशीहरूलाई पनि उत्तिकै प्राथमिकता दिने उनले बताए ।

होटेलको योजना अघि बढाउँदा रू. ४ अर्ब लगानी हुने भनिए पनि २ वर्षसम्म ढिलाइ हुँदा लागत पनि बढेको गोल्यानले बताए । सोमवारदेखि खुल्ने उक्त होटेल ५ तारे स्तरको हुनेछ भने तारा लिनका लागि होटेलले पर्यटन विभागमा निवेदन दिएको छ । १४ तले उक्त होटेलमा १५३ कोठा छन् भने रेस्टुराँ, बैंक्वेट, स्पा, फिटनेस सेन्टर, स्वीमिङ पुललगायत सभाहलसमेत रहेका छन् ।

सोल्टी होटेलबाट क्राउन प्लाजा बाहिरिए पनि नेपालमा अहिले सेराटन र हिल्टन चेन ब्रान्ड भित्र्याउने होटेल निर्माणाधीन छन् । म्यारियट, अलफ्टजस्ता चेन होटल थपिएका नयाँ ब्रान्ड हुन् । नेपालमा हायात रिजेन्सी, र्‍याडिसनलगायत होटेलहरू चेन ब्रान्डमा व्यवस्थापन हुँदै आएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्