गहुँ छर्ने सिजनमा रित्तिँदै सरकारी कम्पनीको मल भण्डार
काठमाडौं,कात्तिक २८ । गहुँ छर्ने सिजनमै सरकारी कम्पनीको मल भण्डार रित्तिने क्रममा छ । हिउँदेबाली गहुँ र तरकारीखेतीका लागि करीब १ लाख २५ हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए पनि सरकारी अनुदानको मल विक्री गर्दै आएका दुई सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडसँग मलको भण्डार निकै न्यून छ ।
कर्पोरेशनसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग करीब साढे १५ हजार मेट्रिकटन मात्र मलको मौज्दात छ । गहुँबालीका लागि किसानलाई डीएपी मलको आवश्यकता पर्छ । तर, कृषि सामग्रीसँग ३ सय मेट्रिकटन मात्रै डीएपी मल मौज्दात छ भने युरिया मल पनि १५ हजार मेट्रिकटन मात्रै मौज्दात रहको बताइएको छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले मलको भण्डारण रित्तिने क्रममा भए पनि मल बाटोमा आउने क्रममा रहेकाले अभाव हुन नदिने प्रयास भइरहेको बताए । उनका अनुसार साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीको २५ हजार मेट्रिकटन युरिया र २५ हजार मेट्रिकटन डीएपी बाटोमा आयातको क्रममा रहेको छ । सरकारी कम्पनीसँग मलको मौज्दात रित्तिने क्रममा भएपछि किसानलाई मलको अभाव भोग्नु परिरहेको छ । धानबाली भिœयाएर गहुँ छर्ने चटारोमा रहेका किसान मल नपाएर छटपटाइरहेका छन् ।
विशेषगरी यतिबेला तराईका जिल्लामा गहुँ छर्ने काम धमाधम शुरू भइसकेको छ । मलविना नै तोरी छरेका किसानले गहुँ छर्ने बेलामा पनि मल नपाउने हुन् कि भन्ने चिन्ता बढेको सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले आर्थिक अभियान दैनिकसँग बताए । उनका अनुसार सुनसरी जिल्लाका किसान हरेक दिनजसो मल किन्नका लागि कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोमा धाए पनि खाली हात फर्किने गरेका छन् ।
यसअघि वर्षे बालीका समयमा समेत मलको अभाव भोगेका किसानले हिउँदे बालीमा समेत अभाव भोग्नु परेको छ । भर्खरै मात्र बेमौसमी वर्षात्का कारण धानबाली नष्ट भएर पीडामा रहेका किसानलाई फेरि मलको अभाव भोग्नुपर्ने कुरा दुःखद रहेको राष्ट्रिय किसान आयोगका निवर्तमान अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए । सरकारले जतिसुकै प्रयास गरे पनि आवश्यक परेका बेला किसानहरूलाई मलको अभावबाट कहिल्यै टार्न नसक्दा किसानहरूको सरकारप्रतिको आश मरेको उनको भनाइ छ । ‘निरन्तर रूपमा रासायनिक मलको प्रयोग गरेको माटोमा मल प्रयोग गर्न पाइएन भने यसले उत्पादनमा समेत असर पार्न सक्छ,’ उनले भने । आर्थिक अभियानबाट