न्यायालयको झगडा अन्त्य गर्न आयोग गठन गर्नुपर्छ : नेता केसी
काठमाडौँ,कात्तिक २७ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पछिल्लो समयको न्यायालय झगडा साम्य पार्न आयोग गठन गर्नुपर्ने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)द्वारा आयोजित ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उनले न्यायालयमा भएको झैझगडा अन्त्य गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सरकारले आयोग गठन गर्नुपर्ने बताएका हुन।
नेपाली काङ्ग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका नेता केसीले कार्यक्रममा सम्बोधन गर्दै सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद पक्ष भएको बताए ।नेता केसीले सरकार न्यायालयभित्रको झगडामा मुकदर्शक भएर बस्न नहुने तर्क गरे।
उनले पार्टीभित्र गुटगत नभई वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै भने- ‘पार्टी नीति र विचारले चल्नुपर्छ।’ त्यस्तै पार्टीका नुवाकोट सभापति समेत रहेका काङ्ग्रेस नेता जगदीश्वरनरसिंह केसीले जटिल परिस्थितिमा हुनलागेको महाधिवेशनको कार्यतालिका अब परिवर्तन हुन नसक्ने भन्दै महाधिवेशनमा होमिन आम कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ का सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्य, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जन, कृष्णमान महर्जन, कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का उपसभापति गणेश रिजाललगायतको उपस्थिति रहेको थियोे।