एमाले दशौँ महाधिवेशन : एकिकृत समाजबादीलाई निमन्त्रणा नगर्ने



काठमाडौं,कात्तिक २७ । एमालेले आफ्नो १०औँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी)लाई निमन्त्रणा नगर्ने भएको छ ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एसलाई चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा बोलाइएको छैन। एमालेका नेताहरूले नेकपा एसलाई निम्तो नपठाउने बताएका छन् । नेकपा एसका नेताहरूले पनि एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा आफूहरू पनि नजाने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नेकपा एसका नेता विराध खतिवडाले एमालेले निम्तो पठाए पनि आफूहरू नजाने बताए ।

एमालेका अध्यक्ष केपी ओलीले नेकपा एसलाई मान्यता दिएका छैनन् । नेकपा एसको नाम ओलीले कहिल्यै पनि लिएका छैनन् । ओलीले नै नेकपा एसलाई राष्ट्रिय महाधिवेशनमा निम्तो नपठाउन निर्देशन दिएका हुन् । एमालेबाट विभाजन भएर बनेको नेकपा एसले आफ्ना गतिविधिलाई एमालेविरुद्ध केन्द्रित बनाउँदै आएको छ। एमालेले पनि नेकपा एसलाई कुनै पनि ठाउँमा अवसर नदिने रणनीति बनाएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि एमाले पार्टीले कम्युनिस्टको सिद्धान्त छाडिसकेको आरोप लगाउँदै आएका छन् । उनले ओलीलाई अवसरवादी चरित्र भएको नेताको संज्ञा दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्