न जनता सुरक्षित, न त हिमताल नै
काठमाडौं,कात्तिक २७ । हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् ।
हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्याउने संकट ठूलो हुने गर्छ । हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ । हिउँका ठूला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढीको स्वरूप लिने गर्छ । हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो संकटको ठूलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन् ।
जलवायुजन्य विपद्का कारण नेपालले जोखिम जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसंघीय महासन्धिको पक्ष राष्ट्रहरूको सम्मेलनमा जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि सहयोग हुनुपर्ने आवाज उठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा आयोजना भएको सम्मेलनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा अनुकूलनको कार्यक्रमसँगै जलवायुजन्य विपद्बाट हुने क्षतिपूर्तिका लागि सहयोग हुनुपर्नेमा जोड दिनुभयो।
नेपालको पश्चिमी क्षेत्रमा विगत झन्डै ५ सय वर्षयता ठूलो भूकम्प नगएको र सो क्षेत्र सम्भावित भूकम्पीय गतिविधिको उच्च जोखिममा रहेको भन्दै जलवायु वैज्ञानिक अरनिको पाण्डेले जोखिमयुक्त हिमताल हुनुले ठूलो मानवीय तथा भौतिक क्षतिको डर थपेको उल्लेख गर्नुभएको छ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।