बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिने
काठमाडौं,कात्तिक २७ । लामो समयको पर्खाइपछि काठमाडौं उपत्यकावासीले दीर्घकालीन व्यवस्थापन स्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न पाउने भएका छन् । हालको व्यवस्थापन स्थल नुवाकोटस्थित सिसडोलमा फोहोर व्यवस्थापन गर्न थप कठिन भएपछि काठमाडौं महानगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापन गर्नेबारे चासो देखाएको हो ।
कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले दीर्घकालीन फोहोर व्यवस्थापन स्थलमा पहिलो सेल निर्माणको काम सम्पन्न भएकाले फोहोर राख्ने काम शुरू गर्न सम्बन्ध भएका निकायसँग प्रक्रिया शुरू गरिएको बताए । ‘प्रक्रिया पूरा गरी आगामी मङ्सिरको दोस्रो सातादेखि फोहोर राख्ने वातावरण मिलाउने कामपाको योजना छ,’ प्रमुख श्रेष्ठले भने, ‘यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि जानकारी गराइसकेका छौं ।’
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको छ । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि शुरू गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालीन रूपमा फोहोर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
बञ्चरेडाँडामा दीर्घकालीन फोहोर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमै सकिनुपर्ने भए पनि दोस्रो सेलको काम अझै सकिएको छैन ।
शहरी विकस तथा भवन निर्माण विभागले दशैं अगावै बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएकाले फोहोर व्यास्थान गर्न सकिने जानकारी गराइसकेको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । आर्थिक अभियानबाट