नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन



काठमाडौं,कात्तिक २६ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार  अन्तिम दिन रहेको थियो। 


यसअघि सरकारले सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो।

त्यसपछि रिक्त रहेको पदमा अर्थ मन्त्रालयले नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ।

सोही समितिले १२ जना आवेदकबाट ३ जना नाम छनौट  गरी सरकारसमक्ष सिफारिस गर्नेछ। 

समितिको सिफारिसका आधारमा सरकारले तीन जनामध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति  गर्नेछ । मन्त्रालयका अनुसार  अध्यक्ष पदका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आवेदन दिएका छन् ।  यसरी आवेदन दिनेमा नेप्सेका पूर्वकार्यकारी अधिकृत, बैंकर, बीमा समितिका पूर्व अध्यक्ष, चार्टर्ड एकाउन्टेन्ट तथा लगानीकर्ताहरु रहेका छन् ।

अध्यक्षका लागि अहिले उनीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्