अर्घाखाँचीका सागर पोख्रेलले बनाए ’ब्याक गियर’ भएको बाइक
अर्घाखाँची,कात्तिक २५ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ पाणिनी चोकमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउनुभएको छ ।
बुटवलबाट बिदाको समयमा घरमा बस्न आउनुभएका पोख्रेल बिदाको समयलाई सदुपयोग गरी कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाउनुभएको हो । घर वरिपरि नै रहेका खेर जाने वस्तु तथा बजारबाट आवश्यक वस्तुको सङ्कलन गरी ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएको सागर पोख्रेलको भनाइ छ । कसैबाट सहयोग पाएमा व्यावसायिक रूपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने उहाँको भनाइ छ ।
उहाँले निर्माण गरेको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । बुटबलमा सब–ओभरसियर विषय पढ्दै गर्नुभएका सागरले निर्माण गरेको बाइकको एक औपचारिक कार्यक्रमको आयोजना गरी टुँडिखेलमा दौडाएका हुन् ।सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुरकुमार विक, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडे, १२ का वडाध्यक्ष नारायण खड्कालगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो ।