नुवाकोट भद्रुटारमा बाघको बिगबिगी, एउटै घरको ५ वटा बाख्रा बाघले खायो
नुवाकोट,कात्तिक २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा बाघको बिगबिगी देखिएको छ। भद्रुटारस्थित फुर्केसल्लाका स्थानीय कमानसिंह तामाङको एकैदिन ५ वटा बाख्रा बाघले खाएको हो । बिहीबार स्थानीय तिलखोरिया बन क्षेत्रमा चरणका क्रममा एउटा बोकासहित ५ वटा बाख्रा बाघले खाएको तामाङले बताए।
बाघको आक्रमणबाट पशुचौपाया मारिन थालेपछि स्थानीय सामुदायिक वनमा घाँसदाउरा गर्न र बस्तुभाउ चराउन डर भएको तामाङ बताउँछन् । बिहीबार मध्याह्न केहि पाटे बाघ बनको ओडारमा लुकेर बसेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
स्थानीय मानिस शहर केन्द्रित भएसंगै जंगल बढेकाले यस क्षेत्रमा बाघ,बदेल र बादरको बिगबिगी बढेको छ। राष्ट्रिय निकुञ्जको बफर जोन क्षेत्र नपरे तापनि यस क्षेत्रका नागरिक जंगली पशुचौपायाको आक्रमणबाट पीडित भएको स्थानीयहरु बताउँछन् । अहिले वन्यजन्तुबाट जोगिन सचेतना कार्यक्रम, वन र निकुञ्जले मानिस र पशुचौपायाको ज्यान बचाउन आवश्यक उपायबारे नागरिकलाई सचेतना दिन आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् ।