कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा, अब कार्यतालिका हेरफेर नहुने
काठमाडौं, कार्तिक २५ । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताएका छन् ।
महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउने तथा महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरू तयार पार्न संयोजकहरू तोक्ने बताइएको छ ।
निर्वाचन समितिले भदौ १८ देखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाए पनि आन्तरिक विवादका कारण अवरुद्ध भएपछि कात्तिक २७ देखि पुनः प्रक्रिया अघि बढाएको छ । महाधिवेशनको प्रक्रिया नै शुरु नभएको १४ जिल्ला सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रसुवा र रौतहटमा २७ गतेदेखि वडा अधिवेशन हुँदै छ ।
यसअघि रसुवा र रौतहटको क्रियाशील विवाद कायमै रहेकाले अन्योल थियो । पछिल्लो समय रसुवाको विवाद टुंग्याएको कांग्रेसले रौतहटको विवाद पनि टुंग्याएको छ । निर्वाचन समितिका संयोजक यादवका अनुसार बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक भएको छ ।
हालसम्म कांग्रेसको ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । कार्यतालिकाअनुसार २७ गतेदेखि अधिवेशन प्रक्रिया शुरु गर्न लागिएको जिल्लामा पालिका अधिवेशन कात्तिक ३० गते गरिँदै छ भने प्रदेशसभा अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते गरिँदै छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन भने मंसिर १० गते हुँदै छ ।
यो समाचार नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले लेखेका छन् ।