५ ओटा विकास बैंकले सार्वजनिक गरे लाभांश : कामना सेवा विकास बैंकको सबैभन्दा बढी
काठमाडौं,कात्तिक २५ । चालू आर्थिक वर्षको चौथो महीना चलिरहँदा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् ।
यसैबिच विकास बैंक समूहबाट हालसम्म पाँच ओटा कम्पनीहरुले गत वर्षको लाभांश सार्वजनिक गरेका छन् । सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंकले गत वर्षको लाभांश सार्वजनिक गरिसकेका हुन् । हाल धितोपत्र दोस्रो बजारमा १६ ओटा विकास बैंकहरु सूचीकृत रहेका छन् ।
लाभांश सार्वजनिक गरेका विकास बैंक समूहतर्फका पाँच ओटा कम्पनीहरुमध्ये सांग्रिला डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंकले भने वार्षिक साधारण सभा मार्फत पारित गराईसकेका छन् । सांग्रिला डेभलपमेण्ट बैंकले कात्तिक १६ गते र कामना सेवा विकास बैंकले कात्तिक २३ गते वार्षिक साधारण सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरिसकेको हुन् ।
सांग्रिला डेभलपमेण्ट बैंकले यसवर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद वितरण गर्न लागेको हो । हालसम्म सार्वजनिक पाँच विकास बैंकको लाभांशमध्ये कामना सेवा विकास बैंकको सबैभन्दा बढी छ ।
कामना सेवा विकास बैंकले १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । हाल कामना सेवा विकास बैंकको चुक्तापूँजी रू. २ अर्ब ६५ करोडभन्दा बढी रहेको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको कात्तिक १२ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी रू.४ अर्ब ८१ करोडभन्दा बढी रहेको छ ।
यस वर्ष लुम्बिनी विकास बैंकले १० प्रतिशत बोनस शेयर र कर समेत ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ९० करोड ६४ लाख ५३ हजारको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले यस वर्ष १० दशमलव ९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाखको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । आर्थिक अभियानबाट