प्यूठानमा जनगणनाको तयारी पूरा, खटिए ३२० जना गणक
प्युठान,कात्तिक २३ । जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको छ। ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको १२औं जनगणनाको प्यूठानमा पनि तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय प्यूठानका प्रमुख रोचक सुबेदिले जानकारी दिनुभयो ।
प्यूठानसहित देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् ।
जसका लागि प्यूठानका ९ ओटा स्थानिय तहका ६४ वडामा ३ सय २० जना गणक खटिएको प्रमुख सुबेदीले बताउनुभयो । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा तालिम दिइसकिएको उहाँको भनाई छ ।
दुई चरणमा गरिने जनगणनामा यसअघि सुपरीवेक्षकले पहिलो चरणको समान्य तथांक संकलन गरिसकेका छन् । अब दास्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्नेछन् ।
नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिएर सहयोग गरे मात्र जनगणना सफल हुने जिल्ला जनगणना कार्यालय प्यूठानका प्रमुख सुवेदिको भनाई छ। उहाँले सबै नागरिकलाई सत्य, तथ्य विवरण दिन पनि आग्रह गर्नुभयो ।
गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै उहाँले व्यक्तिगत विवरण सुरक्षित रहने बताउनुभयो । १०–१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने जनाउँदै सुबेदिले नागरिकले आफ्नो दायित्व सम्झेर तथ्यांक संकलनमा सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।
गणक आफ्नो घरमा नआए के गर्ने ?
प्यूठान जिल्लामा कतिपय गाउँमा पहिलो चरणमा सुपरीवेक्षक तथ्यांक संकलन गर्न नपुगेको गुनासो नागरिकहरुले गरेका छन् । भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षक घर–घरमा पुग्नु पर्नेमा कतिपय टोलमा नै नपुगेको नागरिकको गुनासो छ ।
पहिलो चरणमा सुपरीवेक्षकले घर विवरणसहित २५ वटा सूचक संकलन गरेका छन् । सोही आधारमा गणकहरुले ८० वटा सूचकहरुको विवरण संकलन गर्नेछन् । तर विभिन्न कारणले सुपरीवेक्षक घरघर नपुगेको कही गुनासो आफूलाई पनि आएको जिल्ला जनगणना कार्यालय प्यूठानका प्रमुख सुबेदिले बताउनुभयो ।
उहाँले पहिलो चरणमा सुपरीवेक्षक कुनै ठाउँमा घर–घरमा नपुगेको भएपनि अब भने गणकहरु घर–घरमा पुग्ने दाबी गर्नुभयो । ‘सुपरीवेक्षक घरघरमा नपुग्नुमा विभिन्न कारण हुन सक्छ । पहिलो चरणको तथ्यांक संकलनमा सुपरीवेक्षक घर–घरमा नपुगेको भएपनि अब भने गणक पुग्छन् ।’ सुबेदिले भन्नुभयो ।
यदि कार्तिक २५ गतेबाट हुने दोस्रो चरणको जनगणनामा कोही गणक घरसम्म नआएमा सिधैं ११७८ मा फोन गरेर गुनासो गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै जिल्ला जनगणना कार्यालय प्यूठान , जनगणनाको स्थानीय ईकाईहरुमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।