जलविद्युत् कम्पनीको गत वर्षको लाभांश : ८ ओटा कम्पनीको पारित, एक प्रस्तावित
काठमाडौं,कात्तिक २३ । दोस्रो बजारमा सूचीकृतमध्ये हालसम्म ८ ओटा जलविद्युत् कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/ ७८ को लाभांश वार्षिक साधारण सभाबाट पारित गराइसकेका छन् ।
सिनर्जी पावर, अपि पावर, अरुण काबेली पावर, ङादी ग्रुप पावर, अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले गत वर्षको मुनाफाबाट प्रस्तावित लाभांश वार्षिक साधारण सभा सम्पन्न गरी पारित गराएका हुन् ।
यी बाहेक हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसिएल) ले गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेको छ । कम्पनीको कात्तिक १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल सरकारको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ । हाल दोस्रो बजारमा ४३ ओटा जलविद्युत् कम्पनीहरु सूचीकृत रहेका छन् । पछिल्लो समय दोस्रो बजारमा थपिने नयाँ कम्पनीहरुमा जलविद्युत् कम्पनीहरुनै बढी रहेका छन् ।
हालसम्म प्रस्तावित र पारित जलविद्युत् कम्पनीहरुको मात्र लाभांशलाई हेर्दा ङादी ग्रुप पावरको सबैभन्दा बढी रहेको छ । कम्पनीले यसवर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश असोज ३ गते नै वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ ।
सोही सभाबाट १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको छ । ङादी ग्रुप पावरले २० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको हो ।
अरुण काबेली पावरले यस वर्ष कुल १७ दशमलव ८९ प्रतिशत लाभांश दिएको छ । कम्पनीले गत भदौ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
अरुण काबेली पावरले पनि १७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सोही सभाबाट पारित गरेको छ । लाभांश पारित गरेका ८ ओटा जलविद्युत् कम्पनीहरुमध्ये रिडी र रैराङ हाइड्रोपावरले भने एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत कर समेत नगद लाभांश दिएका छन् ।
यस वर्ष अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर र सिजर्नी पावरले पनि एउटै अनुपातमा अर्थात् १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश पारित गरेका छन् । अपि पावरले भने यो वर्ष १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश दिएको छ ।
सिनर्जी पावरले २ः१ को अनुपातमा, अपि पावरले १:०.३९३६ को अनुपातमा र अरुणभ्यालीले १:०.५० को अनुपातमा हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । आर्थिक अभियानबाट