भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईओटै ट्रान्सफर्मर सञ्चालनमा



चितवन,कात्तिक २३ । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईओटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतवार साँझदेखि विद्युत् आपूर्ति दिएको छ । सवस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो ।

प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सवस्टेशनमा जगेडामा रहेको २२ दशमलव ५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीवारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति शुरु गरिएको थियो ।

कास्कीको लेखनाथ सवस्टेशनमा रहेको २२ दशमलव ५ एमभिए क्षमताको ट्रान्सफर्मरल्याई भरतपुर सवस्टेशनमा जडान गरी त्यसलाई पनि आइतवार साँझबाट सञ्चालनमा ल्याइएको हो ।

सवस्टेशनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहकसेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए । सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सवस्टेशनमा १५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान शुरु गरिएको छ ।

उक्त सवस्टेशनबाट विद्युत् आपूर्तिका लागि तीन ओटा फिडर निकाली सकिएको छ । तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले दीपावलीमा कुनै पनि घरमा बिजुली बाल्न पाइएन भन्ने गुनासो नआओस् भनेर आफै खटेर सवस्टेशनको मर्मत गरेको र हाल पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्