वन्यजन्तु पीडितद्वारा ५२ लाख क्षतिपूर्ति भराउन चितवन राष्ट्रिय निकुञ्जमा माग



चितवन,कात्तिक २२ । आरक्षका वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारले चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७८/ ७९ को तीन महीनामा  ५२ लाख रुपैयाँभन्दा बढी आर्थिक क्षतिपूर्ति भराउन माग गरेका छन् ।

निकुञ्जका अनुसार चालू आवको साउनदेखि असोजसम्म कुल ५२ लाख ४१ हजार १५३ रुपैयाँ बराबरको क्षतिपूर्ति माग आएको हो  । निकुञ्जले सात ओटा शिर्षकमा राहत माग भए अनुसार राहत  सिफारीस समितिको निर्णय अनुसार क्षतिपूर्ति वितरण गर्दै आएको छ । जसअनुसार असोज महीनामा सामान्य घाईतेतर्फ २३ हजार ९३३ रुपैयाँ क्षतिपूर्ति माग भएको छ ।  साउन र भदौमा कुनैपनि राहत माग भएको छैन ।

यस्तै सख्त घाईते भएका पीडित परिवारलाई भदौ महीनामा २ लाख रुपैयाँ क्षतिपूर्ति माग भएको छ । अन्य दुई महीनामा कुनै पनि राहत रकम माग भएको छैन । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका पीडित परिवारले भदौ महीनामा १० लाख रुपैयाँ र असोज महीनामा ३० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको निकुञ्जले बताएको छ । 

यस्तै पशुधनको क्षतिबाट श्रावण महीनामा १ लाख २३ हजार ७००, भदौ महीनामा ८ हजार ४०० र असोज महीनामा ५ लाख ४२ हजार ७२० रुपैयाँ, घरगोठ क्षतिबाट निकुञ्जले साउन महीनामा २७ हजार ५००  माग भएको छ । त्यसैगरी अन्नबालिको क्षतिबाट साउन महीनामा ९१ हजार १०० रुपैयाँ र भदौ महीनामा २ लाख २३ हजार ८०० रुपैयाँ  माग भएको  निकुञ्जले बताएको छ ।

तीन महीनाको अवधिमा निकुञ्ज क्षेत्रमा ११४ ओटा घटना भएका छन् । जसअनुसार सामान्य घाईते र सख्त घाईते एक/ एक जना र वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । यस्तै उक्त अवधिमा १०८ ओटा भौतिक तथा पशुधन क्षति भएको छ । जसमध्ये ५२ ओटा पशुधन क्षति,घरगोठको क्षति तीन ओटा र अन्नबालीको क्षतिका घटना ५३ ओटा भएका छन् । 

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले यसमध्ये २९ लाख रुपैयाँ बराबरको राहत पीडित परिवारलाई  हस्तान्तरण गरिएको र अन्य राहत रकम कानूनी प्रक्रियामा रहेको जानकारी दिए ।

‘हामीले जहिले पीडित परिवारबाट क्षतिको राहत माग हुन्छ, सोही अनुसार अभिलेख राखेर क्षतिपूर्ति मूल्यांकन समितिले घटना र क्षतिको अध्ययन गर्छ र राहत दिने निर्णय गर्छ’ उनले  भने  । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्