विद्युत् व्यापारले व्यापार घाटालाई सुधार गर्दै लैजान्छ : मन्त्री भुसाल



काठमाडौं,कार्तिक २२ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले भारत र बङ्गलादेशलगायतका छिमेकी देशहरूलाई बिजुली बेच्ने बाटो खुलेको बताएकि छन् ।  

आइतवार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार शुरु भइसकेको र बङ्गलादेशसँग सकारात्मक ढङ्गले कुरा अघि बढिरहेको बताइन् । उनले भारतमा विद्युत् व्यापारको शुरुवात भइसकेको भन्दै यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो भएको पनि बताइन् ।

मन्त्री भुसालले मुलुकमा जलविद्युत् उत्पादन क्रमशः बढ्दै गएकाले आन्तरिक खपत बढाउनुपर्ने भन्दै विद्युत् व्यापारले व्यापार घाटालाई  सुधार गर्दै लैजाने बताइन् ।

उनले  हामीकहाँ क्रमशः जलविद्युत् उत्पादन वृद्धि हुँदै गइरहेको भन्दै आन्तरिक खपत पनि बढाउने आवश्यक्ता छ, त्यसको पनि अध्ययन र तयारी शुरु गरिएको बताइन् । 

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका ऊर्जाहरूलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले उद्योगहरूलाई अब चाहिए जति विद्युत् दिन सकिने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् ।

आन्तरिक खपतका लागि विद्युत् महसुल घटाएको भन्दै उनले अब सवारी साधन खरी गर्दा विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिइने नीति ल्याइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्