आक्रमण गराएको आरोपमा वडा अध्यक्ष पटेल पक्राउ
वीरगन्ज,कात्तिक २१ । पर्सा प्रहरीले कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा एक जना वडा अध्यक्षलाई पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका ६ का वडा अध्यक्ष अयोध्या पटेललाई कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा ईलाका प्रहरी कार्यालय पोखरियाले पक्राऊ गरेको जानकारी दिए ।
व्यक्तिगत रिसिबिका कारण एक परिवारका तीन जनामाथि कुटपिट तथा सांघातिक आक्रमण गराएको पीडित पक्षले बताएको छ । प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरुको खोजी गरिरहेको र वडा अध्यक्षलाई पक्राऊ गरिएको जनाएको छ ।
आक्रमणमा परी स्थानीय ऋषि पटेल, राज पटेल र लक्ष्मण पटेल घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक खनालले बताए ।