सल्यान दुर्घटना अप्डेट: मृतक १२ मध्ये दस जनाको सनाखत



दाङ,कात्तिक २१ । सल्यानमा भएको बस दुर्घटनामा परि मर्नेकाे संख्या १२ पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले हालसम्म दश जनाको मात्र सनाखत भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा दाङको शान्तिनगर ८ बस्ने ३५ वर्षिया सावित्रा केसी, सोहि वडाका ५ वर्षिय सुरज वली, बबई ४ की ६० वर्षिया डुली रेउले, वडा नम्वर ६ पञ्कुलेकी ७० वर्षिया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षिया इन्द्रा अधिकारी, सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षिया मीना डाँगी, शारदा ३ की ६६ वर्षिया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षिया मीना शाही , छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय तिलक वली र शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षिया प्रभा चलाउने रहेका छन् ।

अन्य दुई जना मृतकको सनाखत हुन बाँकी रहेको छ । ६ जनाको घटनास्थलमै र अन्य छ जनाको विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस्तैगरी दुर्घटनामा परी घाईते भएका २८ जनाको विवरण खुल्न बाँकी रहेको उहाले जानकारी दिनुभयो । घाईते मध्ये पाँच जनालाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ । अन्य थप दुई जनालाई पनि कोहलपुर हेलिकप्टरमार्फत् पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै केही घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको पनि उहाँले जानकारी दिनुभयो ।अन्य घाईतेहरुको जिल्ला र दाङको तुलसीपुरमा उपचार भईरहेको उहाले जानकारी दिनुभयो । सल्यानको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै आइतबार साढे १२ बजेतिर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्