न्युजिल्यान्डमा आजदेखि लागू भयो इच्छा मृत्यु रोज्न पाउने कानुन



एजेन्सी,कात्तिक २१ । न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास भएको थियो । 

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आजदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो । इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनुपर्ने पहिलो सर्त छ । कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन् ।  यो प्रक्रियाका लागि कम्तीमा दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ ।

इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ । बिबिसी हिन्दीका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकले इच्छा मृत्युका लागि फरक–फरक मापदण्ड बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्