विश्वभर महँगी वृद्धि : खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च



जेनेभा,कात्तिक २१ । विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबभन्दा धेरै  भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ ।

एफएओका अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ । एफएओका अनुसार विश्वभर खाद्यान्न र खाने तेलको मूल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महीनमा मात्र १० प्रतिशतले मूल्यवृद्धि भएको छ । आपूर्तिमा अवरोध, फ्याक्ट्री बन्द हुनु तथा राजनीतिक उतारचढाव बढेपछि खाद्यान्न उत्पादनमा लगातार दवाव बढिरहेको छ ।

यसअघि नै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले आपूर्ति प्रणालीमा आएको व्यवधानका कारण विश्व बजारमा खाद्य उपलब्धताको अनिश्चितता हुनसक्ने चेतावनी दिएको थियो ।

एफएओका अनुसार खाद्यान्नको मूल्यमा वार्षिक २२ प्रतिशतले वृद्धि भइरहेको छ । क्यानडा, रुस र अमेरिका जस्ता गहुँको ठूलो उत्पादक देशमा उत्पादन कम भएका कारण एक वर्षमै गहुँको मूल्य पनि ४० प्रतिशतले बढेको छ ।

राष्ट्र संघले पाम, सोया, सूर्यमुखी र रेपसिड तेलको मूल्य बढ्दा वनस्पति तेलको मूल्य पनि आकाशिन थालेको उल्लेख गरेको छ। अझ विश्वमाझ खाद्य असुरक्षा कोरोनाभाइरसबाट सृजित असहज परिस्थितिका कारण थप गम्भीर बन्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्