१ अर्ब २१ करोड रुपैयाँले घट्यो फूलमालाको कारोबार
काठमाडौं,कात्तिक २१ । कोरोना महामारीपछि फूलमालाको कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेको छ ।
महामारीका कारण फूलमालाको अत्यधिक खपत हुने होटेल, रेष्टुरा साथै बिबाह,भोजभतेर, अनुष्ठानलगायतका कार्यक्रमसमेत नराम्ररी प्रभावित हुँदा फूलमालाको वार्षिक कारोबारमा कमि आएको हो ।
नेपाल पुष्प व्यवसायी महासंघका अनुसार कोरोना महामारी अघि आव २०७५/ ७६ मा नेपालमा फूलमालाको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको थियो भने आव २०७७/ ७८ सम्म आइपुग्दा यो कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेर १ अर्ब ६३ करोडमा रुपैयाँमा झरेको छ ।
महासंघका अध्यक्ष मिनबहादुर तामाङले महामारीका समयमा पुष्प व्यवसायसँग सम्बन्धित सम्पुर्ण व्यवसायहरु ठप्प हुँदा ठूलो रकममा कारोबार घटेको बताए ।उनका अनुसार समग्रमा हेर्दा सामान्य अवस्थामा प्रत्येक वर्ष नेपालमा फूलमालाको माग १० देखि १५ प्रतिशत बढीरहेको हुन्थ्यो ।
त्यसैले उत्पादन पनि बढाउँदै लगिएको थियो । यद्यपि पछिल्लो समयमा कोरोना महामारीले गर्दा बजार नराम्ररी प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर वार्षिक कारोबारमा परेको हो ।
अघिल्ला वर्षहरुमा तिहारको समयमा मात्र सयपत्री, मखमली र गोदावरीको करीब २२ लाखभन्दा धेरै माला खपत हुने गरेको भएपनि महामारी पश्चात यो तिहार लक्षित कारोबार पनि घटेको छ । गत वर्ष १३ करोड रुपैयाँ बराबरको १८ लाख माला मात्र खपत भएको थियो । यसवर्षको तिहारमा पनि साढे १८ लाख माला मात्र खपत हुने अनुमान छ ।
खपत हुने कुल साढे १८ लाख मालामध्ये सयपत्री फूलका १३ लाख माला, गोदावरी र मखमली फूलका ३ लाख मालागरी १६ लाख माला नेपाली किसानको आफ्नै उत्पादन हुनेछ भने २ लाख ५० हजार माला बजारमा अपुग देखिएकाले अपुग माला आयात गर्नुपर्ने छ ।
तर अबैधानिक रुपमा भारतबाट आवश्यकताभन्दा बढी माला आयात भइरहेको भन्ने खवर सुन्नमा आएको छ । त्यसैले मूल्यमा तलमाथि भएर नेपाली किसान मर्कामा पर्नसक्ने सम्भावना पनि छ,’ तामाङले भने ।
९१ प्रतिशत माग आन्तरिक उत्पादनले धान्छ
नेपालमा वार्षिक रुपमा खपत हुने फूलमालाको करीब ९१ प्रतिशत बजार माग आन्तिरक उत्पादनले धान्ने गरेको छ भने करीब २४ करोड २० लाख रुपैयाँको फूलमाला हरेकवर्ष अपुग हुने भएकाले उक्त परिमाणमा फूलमाला भारत लगायतका मुलुकबाट आयात गर्ने गरिन्छ । यद्यपि गत वर्ष महामारीका कारण व्यवसायीहरु थप लगानी गर्न डराएपछि उत्पादन घट्न गई आयात केहि बढेको छ ।
नेपालमा फूलमालाको कुल कारोबारको ६० प्रतिशत खपत काठमाडौं उपत्यकामा हुनेगर्दछ भने बाँकी ४० प्रतिशत उपत्यका बाहिर हुने गर्दछ । उपत्यका भित्रका मानिसहरुमा सबै कार्यक्रममा फूलको प्रयोग गर्ने बानिको बिकास भएकाले काठमाडौंमा बढी खपत भएको महासंघले जनाएको छ ।
महासंघको तथ्याङ्क अनुसार देशभरीमा ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको पुष्प व्यवसाय हाल ४४ ओटा जिल्लामा फैलिएको छ । जसबाट ७०० जनाभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमागरि ४३ हजार मान्छेले रोजगारी पाएका भएपनि हाल महामारीका कारण ३ हजार मानिसले रोजगारी गुमाएका छन् ।
गत वर्षको कोरोना महामारीको समयमा सरकारले पुष्प व्यवसायलाई अत्यावश्यक क्षेत्रमा वर्गिकरण नगरेपछि व्यवसायीहरु आफ्नो वासस्थानदेखि नर्सरीसम्म जान नसक्दा अधिकांस बोटविरुवाहरु मरेपछि ठूलो क्षति भएको थियो ।
बिरुवा बचाउन पाएको भए एउटा बिरुवाले ३ देखि ५ वर्षसम्म उत्पादन दिने व्यवसायीहरुको भनाइ छ । पछिल्लो समय होटेल, रेष्टुरा लगायतका व्यवसाय खुलेसँगै खपत बढेको छ तर महामारीको त्रासका कारण व्यवसायीले लगानी नगरेकाले उत्पादन कम हुँदा माग धान्न पनि समस्या भइरहेको छ ।
बजारलाई पुनः पहिलेकै अवस्थामा सुचारु गर्न थप लगानीको आवश्यकता रहेको उनीहरुको भनाइ छ । प्रत्येक वर्ष ६० जनाको हाराहारीमा नयाँ व्यवसायी थपिने क्रम जारी छ । थप लगानी बढाउन सकिएमा आत्मनिर्भर भएर निर्यात पनि गर्न सकिने अवस्था भएकाले नेपालमा फूल व्यवसायको सम्भावना निकै राम्रो रहेको उनीहरुले बताएका छन् । आर्थिक अभियानबाट