सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ९० भन्दा बढीको मृत्यु
फ्रिटाउन, कात्तिक २० । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नु भएको छ । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु ८८ जनाको उपचार भइरहेको पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
“दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो”, एक प्रत्यक्षदर्शीले भने । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् । शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ ।
“आगलागी हुनुअघि इन्धन पोखिएको थियो । त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए”, एक प्रत्यक्षदर्शीको भनाइ छ ।