नबिल बैंकको ५ वर्षे लाभांश इतिहास : यस वर्ष ४ वर्षपछिकै उच्च



काठमाडौं,कात्तिक २० । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

वाणिज्य बैंकहरुमध्ये वित्तीय सूचकहरुमा समेत अब्बल मानिएको यस बैंकले गत वर्षपनि वाणिज्य बैंकहरुमध्ये सर्वाधिक ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपालको शेयर बजारमा कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको यस बैंकको यो वर्षको लाभांश विगत चार आर्थिक वर्षपछिकै उच्च हो ।

आर्थिक वर्ष ०७३/७४ मा ३० प्रतिशत बोनस शेयर र कर समेत १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश वितरण गरेको यस बैंकले त्यस पछिका दुई आर्थिक वर्ष एउटै अनुपातमा अर्थात् १२ प्रतिशत बोनस शेयर र कर समेत २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत वर्ष भने बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

दोस्रो बजारमा बैंकको शेयरमूल्य रू. १ हजार ६५३ रहेको छ । लाभांश सार्वजनिक भएको दिन कात्तिक १७ गते बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो भने शेयरमूल्य पनि प्रतिकित्ता रू. ४५ ले बढेको हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्