आज भाइटिका, उत्तम साइत बिहान ११ बजेर ०२ मिनेटमा
काठमाडौं,कात्तिक २० । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् ।
दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । आज बिहान ७:३९ देखि ९:०१ सम्म शुभ बेला र ११ बजेर ०२ मिनेटमा उत्तम बेला रहेको समितिले जनाएको छ। त्यस्तै ११:२३ देखि १२:०७ सम्म अभिजित मुहुर्त रहेको समेत समितिले जनाएको छ।
त्यसअघि बारबेलाअनुसार कालबेला परेकाले कालबेला कटाएर शुभबेलाको साइत निकाल्दा साइत ढिला भएको समितिले जनाएको छ । “मध्याह्न कालमा अभिजित् नामको शुभ मुहूर्त दिइएको छ”–समितिले जनाएको छ । यस वर्ष टीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ उत्तर पश्चिम फर्कनुपर्नेसमितिले जनाएको छ ।
अहिले चन्द्रमा उत्तरमा रहेकाले आशीर्वाद दिने मानिसको दाहिने पार्नका लागि यस्तो निर्णय गरिएको हो । “सप्तरङ्गी टीका भनी विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ”–समितिले जनाएको छ ।
आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्मदिदी बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत छ । दिदीबहिनी नहुनेका लागि हरेक वर्ष आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा सामुहिक टिका लगाउने चलन रहेपनि भूकम्पले क्षतिग्रस्त भएकाले यो काम त्यहाँबाट रोकिएको छ ।
आज काठमाडौंको हनुमानढोका नजिक पाल टाँगेर सामुहिक टिका लगाउने कार्यक्रम राखिएको छ ।