प्रचण्डले गरे एमसीसी बारे खण्डन- पास गर्छौं भनेर चिठ्ठी लेखेको होइन
काठमाडौं,कात्तिक १९ । पछिल्लो समय चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खण्डन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे आफुसंग जोडिएर गरिएको दाबिबारे प्रचण्डले खण्डन गरेका हुन् ।
प्रचण्डले शुक्रबार आफ्नै निवासमा देउसी खेल्न आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमसीसी बारे बिहीबार बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबीको खण्डन गरेका हुन् । प्रचण्डले एमसीसी पारित गर्न राष्ट्रिय सहमति आवश्यक भएको भन्दै समय चाहिन्छ भनेर प्रधानमन्त्री र आफुले चिठ्ठी पठाएको बताएका छन्
प्रचण्डले भने, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।’
उनले अगाडी भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन ।’
प्रचण्डले अमेरिका, बेलायत वा कुनै पनि देशले लिने अनुदान सहयोग लिनु स्वाभाविक भएको भन्दै सुरुको सहमतिमा डराउनुपर्ने कुरा नभएको बताए । उनले बीचमा थपिएका कुराले नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्बोधन नगरिकन यसलाई पास गर्न नसकिने स्पष्ट गरेका छन् ।