प्यूठानमा लोप हुँदै परम्परागत ढिकी र जाँतो
प्युठान,कात्तिक १९ । आधुुनिक प्रबिधिहरुको विकाससंगै ढिकी र जातो देखिनै छाडेको छ । सेलरोटीको पर्वका रुपमा रहेको तिहार घर आगनमा आईसकेको छ । महिलाहरुलाई अहिले रोटी बनाउनै चटारो छ ।
तिहारकालागि रोटी बनाउने सुरमा रहेकी प्यूठान नगरपालिका – १ खैराकी दिना बस्नेत रोटी बनाउनका लागि चाहिने पीठो पिस्नकालागि एक हप्ता देखि ढिकी र जातोे खोज्दै हिडेकी छिन । हरेक बर्ष जस्तै यस बर्ष पनि तिहारकालागि सेल, फिनी, अनरसा, झिनिया लगायत रोटी बनाउने उनी बताउछिन ।
छर छिमेकी, गाउ गाउमा चहार्दा पनि ढिकी र जातो नपाएपछि उनी निराश बनेकी छिन । ‘ एक हप्ता देखि चामलको पीठो पिस्न ढिकी जातोको खोजीमा लागेकी छु तर कही भेटाएको छैन ’ उनले निराश हुदै भनिन । आधुनिक मेशिनले पिसेको भन्दा ढिकी जातोले पिसेको पीठोबाट बनाएको रोटी राम्रो बन्ने गरेकोले आफुले सो सामान पाइने आश र खोजीको प्रतिक्षामा बसेको उनले बताईन ।
प्यूठान नगरपालिका– ३ कुवापानीकी सुमित्रा खत्रीले पनि तिहारमा सेल बनाउनका लागी पीठो पिस्न ढिकी र जातो खोजी गरे पनि नपाएको बताईन । ‘ ५ दिन देखि ढिकी जातो खोजे पनि कही भेटिन,’ उनले भनिन । ढिकी र जातो नपाए पछि नजिकैको मीलमा गएर पीठो पिसाउने सोचमा गएको उनले बताईन ।
केही बर्ष अघि सम्म तिहारमा बनाईने रोटीहरु ढिकी जातोबाट पिसेको पीठोबाट बनाईन्थ्यो । तर अहिले भने भने गाउ घरबाट परंपरागत ढिकी र जातो लोप भए पछि आधुनिक मीलबाट पीठो पिसाउने चलन आएको छ । जिल्लाका प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आए पछि ढिकी जातोको प्रयोग हराउदै गएको छ ।
अधिकांसले ढिकी र जातो बिर्सदै जान थालेका छन् । अहिले यहा समय परिवर्तनसंगै स्थानिय समुदायले परम्परा देखि प्रयोग गर्दै आएका ढिकी र जातो चलाउन छोडेका छन् । कुटानी पिसानीका लागि प्रयोग हुने ढिकी र जातो को प्रयोग छोडे पछि ढिकी र जातो लोप हुने अबस्थामा पुगेको हो। जिल्लाका प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आएपछि अधिकांस प्यूठानका समुदायले ढिकी र जातो बिर्सदै जान थालेका छन् ।
१० बर्ष अघि सम्म सबैे यता ढिकी र जातो को बढी प्रयोग गर्दथे तर अब प्रयोग र बनाउने क्रम घटदै गएको कुरा प्यूठान नगरपालिका २ चितिखोलाकी ७० बर्षिया सिताराम बिष्टले बताए । ‘ तिहारका बेलामा त यस्को प्रयोग अझ बढी हुन्थ्यो तर अहिले भने गाउ घरमा यो देखिनै छाड्यो ’ उनले भने । ‘वनबाट काठ ल्याई ढिकी र खोलाबाट ढुङ्गा ल्याई जातो बनाउने गरिन्थ्यो नयाँ पिढीले उक्त समान बनाउने सिप सिक्न समेत लुप्प भयो, ’ प्यूठान नगरपालिकाका अर्का एक जना ७३ बर्षिया कृष्ण बहादुर थापाले गुनासो गदै भने ‘ अहिले उक्त समान बनाउने सीप सिक्न समेत लाज मान्छन् ’ । ‘पहिले जुन घरमा ढिकी र जातो हुदैन थियो, त्यो घरमा कसैले विवाह गर्दैन्थ्यो तर अब समय परिर्बनसंगै पुरानो कला संस्कृती लोप हुदा समेत कसैलाई कुनै चिन्ता छैन्’ उनले भने ।
बिहान झिसमिसेमा कुखुरा बासे पछि उज्यालो नहुन्जेल सम्म ढिकीमा धान कुटने पहिले –पहिले परमपरा नै थियो । त्यस्तै गाउका कुल पुजा र विवाह तथा शुभ कार्यमा समेत ढिकी र जातो बाट कुटेका चामल र पिठो जस्ता खाद्य पदार्थको प्रयोग गरिन्थ्यो । जबकी ढिकी र जातो बाट कुटेका चामल र पिठो स्बास्थ्य बद्र्धक र स्वादिष्ट पनि उत्तिकै हुन्छ । यहाका समुदायले बिभिन्न धार्मिक पुजाआजा गर्दा चामलको पिठोको बिषेश परिकार बनाएर प्रसाद बितरण र ग्रहण गर्ने गर्दछन् ।
आधुनिक खाद्य उद्योगहरुले ब्यक्तिमा काम गर्ने जागर कम गराईदिएको छ भने बर्षौ पुरानो कला संस्कृती लोप हुने अबस्थामा पुगे पछि यहाका संस्कृतिबिद चिन्तित बनेका छन् । ‘तत्काल ढिकी र जातोको संरक्षणमा लागिन भने आउदो नयाँ पुस्ताका लागि ढिकी र जातो ईतिहासमा सिमित हुन्छ भन्दा अतिशयोक्ती नहोला’ साहित्य परिषद प्यूठानका अध्यक्ष गेहराज थापाले भने ।