महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोगले ज्यानै जाने जोखिम



काठमाडौं,कात्तिक १९ । हिन्दु धर्मावलम्बीहरूमध्ये कतिपयले महिनावारी हुनुलाई अछुत मान्छन् । यही मान्यताका कारण महिनावारी भएको अवस्थामा महिलाहरू पूजापाठ, चाडपर्व मान्नबाट बञ्चित हुने गरेका छन् । विशेष चाडपर्वहरू दशैं, तिहार, पूजापाठबाट बञ्चित हुने डरले महिनावारी हुने समय भएको अवस्थामा कतिपय महिलाहरूले महिनावारी पछाडि सार्न अथवा अगाडि सार्नका लागि औषधि खाने गरेको पाइन्छ । त्यसरी जथाभावी औषधि खाँदा स्वास्थ्यमा निकै ठूलो असर गर्ने चिकित्सकहरु बताउछन ।

तिहार सुरु भएयता प्यूठान बिजुवारको एक निजि स्वास्थ्य किलनिकबाट करिब ५० भन्दा बढी महिला तथा किशोरीहरुले महिनाबारी रोक्ने औषधि किनेर लगिसकेको निजि क्लिनिकका सञ्चालकले बताएका छन । औषधिको बारेमा बुझेर खादा त्यति धेरै असर नगर्ने तर जथाभावि औषधि प्रयोग गर्दा निकै ठूलो समस्या हुने स्वास्थ्य कार्यालय प्यूठानकी पब्लिक हेलथ नर्स रिता न्यौपानेले बताउनुभयो । “कुन औषधि कहाँबाट, कसरी, कत्ति मात्रामा खाने भन्ने थाहा पाएर खाँदा स्वास्थ्यमा त्यति असर गर्दैन ।” न्यौपानेले भनिन– “काउन्टर सेलिङमा गएर औषधि किनेर जथाभावि खाँदा, औषधिको दुरुपयोग हुँदा अवश्य स्वास्थ्यलाई गम्भीर असर गर्छ ।”पछिल्लो समयमा औषधि दुरुपयोग भएको पब्लिक हेल्थ नर्स न्यौपानेले बताइन।  –“औषधिको दुरुपयोग मैले किन भनेको हो भने जेका लागि जुन औषधि दिनुपर्ने त्योभन्दा फरक औषधि पनि दिएको पाइन्छ । अथवा महिलाहरुले खाएको पाइन्छ ।” उनले भनिन – “खाली महिनावारी पर सार्नको लागि पनि इमरजेन्सी कन्ट्रासेप्सनहरु पनि खुवाउँछन् । महिनावारी पर सार्नलाई निजो प्रोस्टोन, प्रोजेस्टेरोन पनि खुवाउँछन् र स्ट्रेजोन प्रोजेस्टेरोन कम्बाइन पिल्स पनि खुवाउँछन् । यस्तो धेरै तरिकाको औषधिहरूको काम, त्यसले पर्नसक्ने असर जानेर, बुझेर, हिसाब गरेर नखानु भनेको दुरुपयोग गर्नु–हुनु हो ।”

औषधि प्रयोग गर्ने व्यक्तिलाई अथवा मेडिकललाई यसको ज्ञान हुन जरुरी रहेको नर्स न्यौपानेको भनाइ छ । –“दुवै पक्षलाई ज्ञान, जिम्मेवार हुन जरुरी छ । तर, सामान्य व्यक्तिलाई नहुँदा मेडिकल जसले औषधि विक्रेता अथवा दिने व्यक्ति अझ जिम्मेवारी बढी हुनुपर्छ । औषधि मागेपछि केही नबुझी दिनुहुँदैन । किन, केको लागि बुझेर दिनुपर्छ ।” उनले भनिन “प्रयोग गर्ने व्यक्तिले पनि आफूलाई आवश्यक परेको बेला मेडिकलमा गएर माग्ने र जाँच नगरी दिन्छ भने सचेत हुन जरुरी छ । औषधि विक्रेताले पनि डाक्टरको सिफारिसको आधारमा दिनुपर्छ ।”

औषधि किन्न आउने व्यक्तिले केका लागि औषधि खान खोजेको हो बुझ्नुपर्ने नर्स न्यौपानेको भनाइ छ । –“महिनावारी अगाडि सार्न अथवा पछाडि सार्न, अथवा कति दिन अगाडि अथवा पछाडि सार्न खोजेको हो भन्ने जानकारी लिनुपर्छ । कति दिन भो महिनावारी भएको, सामान्य समयमा कत्ति दिनमा महिनावारी हुने गरेको छ जस्ता जानकारी लिनुपर्छ । गर्भवती भएको हुनसक्ने सम्भावना पनि रहन्छ । त्यसैले विक्रेता अथवा चिकित्सक एकदम सचेत हुन जरुरी छ उनले भनिन –“कुन औषधि खाँदा कति दिन पर अथवा अगाडि सार्छ, महिनावारी भएको कति दिनपछि कुन औषधि दिने भन्ने कुरा महत्वपूर्ण हो । जसले महिलाको शरीरको हर्मोनसँग ट्याली गर्नुपर्छ । केही थाहै नपाई दिनमा तीनवटा खानु अनि छोड्नु भन्ने गरेको पाइन्छ । छोडेपछि रगत बगेको बगै भएर समस्या भएको अवस्था आउने जोखिम हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्