भारतीय बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न अनुमति पाउनु स्वागतयोग्य : इपान



काठमाडौं,कात्तिक १९ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले भारतीय बजारमा प्रतिस्पर्धी दरमा पहिलोपटक नेपालको विद्युत् विक्रीको अनुमति पाएकोप्रति खुशी व्यक्त गरेको छ । 

साथै उसले नेपालको जलविद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा विक्री गर्न पाउनु स्वागतयोग्य भएको पनि बताएको छ ।

इपानमा अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको जलविद्युत क्षेत्रलाई व्यवस्थित र मर्यादित तरिकाले विकास र विस्तार गरी बढी जलविद्युत् उत्पादन गरी स्वदेश तथा विदेशमा विभिन्न माध्यमबाट विक्री वितरण गर्न आवश्यक नियम छिटो निर्माण गर्न  पनि आग्रह गरेका छन् ।

लामो समयको प्रतीक्षापछि नेपालको निर्णय भारतले स्वीकृत गरेको र यसबाट अन्तरराष्ट्रिय बजारमा व्यापारको ढोका खुलेको उनले बताए । ‘आजसम्म हामीले किनिरहेका मात्र थियौं, अब बेच्न सक्ने भएका छौं । यो राम्रो शुरुवात भएको छ,’ उनले भने, ‘सरकारले व्यापारको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्छ ।’

उनले सबैभन्दा पहिले स्वदेशमा उर्जा खपत गर्नुपर्ने वातावरण बनाउनुपर्ने र निर्यात गर्नुपर्ने बताए । इपानले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विद्युत् निर्यात गर्ने ढोका खुलेको र अब बंगलादेशमा नेपालको विद्युत् लैजाने बाटो खुलेको पनि बताए । 

नेपाल विद्युत् प्राधिकरणले केहि समय अघि अगाडि बिजुली बेच्ने विषयमा पठाएको प्रस्ताव भारतले स्वीकृत गरी गत मंगलवार राति १२ बजेदेखि किन्न थालेको छ । भारतले शुरुमा २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाटको कुल ३९ मेगावाट किन्ने  खरीद गर्न सहमति गरेको हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्