सोरठीको संरक्षणमा पुरानो पुस्ता अग्रसर
प्युठान,कात्तिक १८ । प्युठानमा सोरठीगीत र नांच संरक्षणमा पुरानो पुस्ता जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन नौबहिनी गाउँपालिका–५ गावैका पुरानो पुस्ता सक्रीय भएका हुन् ।
गाउँलेले बि.स. २०५२ सालमा स्थापना भएको ‘मारुनी नाच समितीले सोरठीगीतको संरक्षणमा लागेको हो । शिद्वबाबा मारुनि नाच समितीका सचिब रामबहादुर पुनले पुरानो संस्कृतिबारे नयाँ पुस्तालाई सिकाउन र तिनको संरक्षणमा प्रेरित गर्न बुढौली पुस्ता जुटेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ,” सोरठीगीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म संलग्न छन् । पुनका अनुसार समितीलाई सोरठीगीत प्रदर्शनकै लागि विभिन्न ठाउँबाट माग आउने गरेको छ। समितीले सोरठी गाएबापत आएको दान रकम सामाजिक काममा खर्चने गरेको बताएको छ । समितीले प्रस्तुतिलाई व्यस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको समेत व्यवस्था गरेको छ ।
कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुगेँ आवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ‘बा’ को निर्देशनअनुसार अन्य कलाकारले गायनमा सघांउछन् । मगर समुदायमा विवाह, व्रतबन्ध देखि सार्वजनिक समारोह, मेला पर्व र उत्सवमा समेत सोरठी प्रस्तुत गरिन्छ। प्युठानमा नौबहिनीसंगै माडी, गौमुखी र ऐरावती क्षेत्रमा यो नाच नाचिन्छ ।
सोरठीगीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ । तर, पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन नसकेको संस्कृतिकर्मीहरु बताउँछन्।