भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा
काठमाडौं,कात्तिक १६ । आउदो कार्तिक २० गते शनिबार भाइटीका परेको छ । यस दिन बिहान ११ः०२ बजे भाइटीकाको उत्तम साइत रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्ने चलन चल्दै आएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न शुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।