महाकवि देवकोटाको जन्मजयन्ती मनाउन यस्तो छ तयारी
सप्तरी,कार्तिक १६ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि (बुधबार) विभिन्न कार्यक्रम गरी सप्तरीको कञ्चनरुपमा मनाइँदैछ ।
सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक संघको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा साहित्यिक गोष्ठी एवम् शुभकामना आदानप्रदान हुने प्रलेस सप्तरीका उपाध्यक्ष मेघराज पौडेलले जानकारी दिनुभयो । यसअघि कञ्चनरुपमा १११औं देवकोटा जयन्ती मनाएकोमा गत वर्ष कोभिड–१९ ले प्रभावित हुँदा मनाउन नपाइएको पौडेलले बताउनु भयो ।
साहित्यिक गोष्ठीमा देवकोटा जीवनी र योगदानबारे चर्चा तथा साहित्यकारहरुले आफ्नो सिर्जना वाचन गर्नुहुने कार्यक्रम रहेको छ ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो । दस वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु भयो ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो । नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताउनुभएको थियो।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभयो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसङ्ग्रह’ प्रकाशन गर्नुभएको थियो ।
वि.सं. २०१६ सालमा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।