सामलिङ्ग पावरको आईपिओ बाँडफाँड, तपाईलाई परे नपरेको यसरी हेर्नुस
काठमाडौं,कात्तिक १६ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याईएको ७३०००० कित्ता शेयर मध्ये १४६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६५०० कित्ता सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी बाँकी रहेको ६७८९०० (छ लाख अठहत्तर हजार नौ सय) कित्ता साधारण शेयरहरुको आज मिति २०७८ कार्तिक १६ गते मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीले २०७८ कार्तिक ४ गते देखि २०७८ कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण शेयरहरु मंगलबार बाँडफाँड गरेको हो ।
सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि २१८८७७८ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमवाटक ६७८९० जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १२३०००० (बाह्र लाख तीस हजार) कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५००००० कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४६०० कित्ता रसामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकिएको छ ।
कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । यो आईपिओ आफूलाई परे नपरेको थाहा पाउन मेरो शेयरको https://iporesult.cdsc.com.np/ मा गई कम्पनीको छनौट गरी आफ्नो १६ अंकको बिओआईडी नम्बर हानेर सर्च गर्नुहोस् ।