नुवाकोटको लिखु गाउँपालिकामा अपाङ्गता भएकाहरुलाई खाद्यान्न वितरण
नुवाकोट, कात्तिक १५ । जिल्लाको लिखु गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच लिखु गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरु मध्ये अति विपन्न, दलित तथा जनजातीहरु छनोट गरि ५० जनालाई खाद्यन्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
अपाङ्ग सेवा संघको आयोजना, जुनकिरी म्यूजिक प्रालि र समाजसेवी धनकुमारी थापा सरुको संयोजन तथा लुम्विनी विकास बैंक केन्द्रिय कार्यलयको आर्थिक सहयोगमा अपाङ्गता भएका ब्यक्तिहरुलाई चामल, नुन, तेल, चिनी चियापत्ती लगायतको खाद्य सामाग्री बितरण गरिएको बताइएको छ ।
खाद्यान्न वितरण कार्यक्रमलाई संबोधन गर्दै प्रदेशसभा सदस्य कल्पना नेपालीले अपाङ्ग हुँदैमा कोही असक्षम नहुने बताएकी थिइन् । उनले आफू अपाङ्ग छु भनेर आफूलाई कहिले कमजोर नबनाउन समेत आग्रह गरेकी थिइन् । कार्यक्रममा सपाङ्को जत्तिकै अधिकार अपाङ्ग भएका व्यक्तिहरकोको पनि रहेको लिखु गाउँपालिका अध्यक्ष धु्रव श्रेष्ठले बताएका थिए ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालिमहरु ल्याएको र आगामी दिनमा सोही कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाले १० लाख रुपैँया वजेट विनियोजन समेत गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमताले भ्याउने सिपमूलक कार्यहरुमा लाग्न गाउँपालिकाले प्रेरित गरिरहेको उनले बताए ।
कार्यक्रममा लिखु गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर रोक्काले अपाङ्गता भएका व्यक्तिहरुलाई भावनात्मक सहयोगको सबै भन्दा बढी आवश्यक पर्ने भएकोले त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा लिखु गाउँपालिका–१ का वडा अध्यक्ष नरहरी पाण्डे, वडा नम्बर–६ का वडा अध्यक्ष हरिशरण लामिछाने, सामाजिक विकास शाखा प्रमुख पार्वती उप्रेती लगायतले अपाङ्गता भएका व्यक्तिहरुको विकासका लागि यसैगरी सहयोगि हातहरु बढाउनुपर्ने बताएका थिए । लिखु गाउँपालिकामा महिला र पुरुष गरि ३ सय ८१ जना अपाङ्ता भएका व्यक्तिहरु रहका छन् ।