मध्यभोटेकोशी जलविद्युत् आयोजना : निर्माण कार्यमा उत्साहजनक प्रगति



आगामी वर्ष नै सक्ने लक्ष्य

काठमाडौं,कात्तिक १५ । विभिन्न प्राकृति प्रकोप, नाकाबन्दी, ठेकदार कम्पनीको कमजोर कार्यसम्पादन, कोरोना महामारीलगायत कारण प्रभावित भएको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको छ ।

आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ को पुसभित्र नै निर्माण पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको चिलिमे जलविद्युत् कम्पनीले सिन्धुपाल्चोकमा उक्त आयोजना बनाइरहेको छ । उक्त आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायत मुख्य संरचनाको निर्माण वर्षा शुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र ७ दशमलव २ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मीटर ३ महीनाभित्र सक्ने लक्ष्य राखिएको प्राधिकरणले बताएको छ ।

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करीब साढे ५ महीना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, गतवर्षको असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरोको र कोभिड–१९ को महामारीका कारण उक्त आयोजनाको निर्माण प्रभावित भएको थियो ।

प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्शनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनीयरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्पmको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरू आयोजना स्थलमा ल्याइसकेको छ । गतवर्ष भोटेकोशी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरूमा क्षति पु¥याएको थियो । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको शुरूको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्ये प्राधिकरणको १० प्रतिशत स्वामित्व रहेको छ । यस्तै, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावरको १ प्रतिशत, नेपाल अरनिको हाइड्रोपावरको १ प्रतिशत, सिन्धु इन्भेस्टमेन्ट कम्पनीको १ प्रतिशत र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दममलव ५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३ दशमलव ५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर रहेको छ । कम्पनीले हालै आईपीओबाट सर्वसाधारणलाई शेयर विक्री गरेको छ ।

आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० मा खरीद गर्नेछ । त्यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्