१ वर्षभित्र आयोजना सक्न निर्देशन
सिन्धुपाल्चोक,कात्तिक १५ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना १ वर्षभित्र सक्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन आयोजना २०७९ पुसभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिँदै समयसीमाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढिरहेको छ लगानीकर्ताले प्रतिफल पाउन सकेका छैनन्,’ घिसिङले भने, ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधैं तयार छौं । आयोजनाको स्वामित्व लिई टीम बनाएर काम गरौं, अब संशोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौं ।’
घिसिङसहित आयोजनाको प्रवद्र्धक मध्यभोटेकोशी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरूसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरेको थियो ।
हालसम्म आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । विद्युत्गृह भवन निर्माण आगामी पुसभित्र र सुरूङ ३ महीनाभित्र सक्ने लक्ष्य राखिएको छ । ७ दशमलव २ किलोमिटर सुरुङमध्ये ४ सय १५ मीटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जानकारी दिएको छ । ‘यो आयोजना निर्माणको अन्तिम खण्डमा छ,’ आयोजनाको निरीक्षणपछि प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले भने, ‘त्यसकारण बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’ आर्थिक अभियानबाट