असफल व्यवस्थाले संसददेखि अदालतसम्म झगडाः विप्लव
दाङ,कात्तिक १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले असफल व्यवस्थाले गर्दा संसददेखि अदालतसम्म झगडा देखिएको बताएका छन् । शनिबार दाङ घोराहीमा पार्टीको युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले न्यायलयमा समेत प्रश्न उठ्नु दुुर्भाग्यपूर्ण भएको जिकिर गरे ।
‘अहिले देख्नुभएको छ नि संसदमा झगडा छ । भएन भने न्याय दिने अदालतमा हानाहान छ,’ उनले भने, ‘यसले पुष्टि गर्छ संसदीय व्यवस्था असफल भइसकेको छ ।’ उनले असफल संसदीय व्यवस्थाले गर्दा स्थानीय तहदेखि नेता, कर्मचारी, प्रहरी प्रशासन, अदालत सबैमा घुषखोरी मौलाएको बताए ।
यस्तो हुनुमा सम्बन्धीत व्यक्ति दोषी नभएर व्यवस्था नै त्यस्तै भएको उनको जिकिर थियो । महासचिव विप्लवले संसदस्य व्यवस्थाले जनताको अधिकार स्थापित गर्ने भन्दा खोस्ने र नेताहरु मात्रै मोटाउने काम भएको दावी गरे ।
उनले अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नुुपर्ने धारणा राख्दै त्यसो अबस्था आए आफुुहरु चुुनाबमा जाने स्पष्ट पारे ।
नेकपा एमाले, नेपाली कांग्रेस र माओबादी केन्द्र सत्तामा पुुगे पनि सत्ता र अधिकार जनतामा फर्काउन नचाहेको दावी गरे । उनले अमेरिकी सहयोग एमसीसी सहयोगका रुपमा लिन सकिने तर निस्वार्थ हुनुुपर्ने धारणा व्यक्त गरे ।
साथै महासचिब बिप्लबले सरकारसँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोश समेत व्यक्त गरे। तत्काल सहमती कार्यान्वयन गरेर इमान्दारीता देखाउन समेत सरकारलाई उनको आग्रह छ ।