वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो टाेखामा रक्तदान कार्यक्रम



काठमाडौं,कात्तिक १३ । आफ्नो वार्षिकोत्सवको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्सले टाेखामा रक्तदान कार्यक्रम गरेको छ।

शनिबार सिटिजन लाइफ इन्स्योरेन्स टाेखा शाखाले आफ्नो चौथो वार्षिक उत्सवका अबसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा काठमाडौंको टाेखा नगरपालिका वडा ११ स्थित इन्स्योरेन्सको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र र अन्तर्राष्ट्रिय बाल मैत्री अस्पतालको सहकार्यमा संयुक्तरूपमा आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गरेकी थिइन।

सो अवसरमा स्वागत मन्तव्य राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टाेखा शाखा प्रमुख तथा कार्यक्रम संचालक राजकुमार न्यौपानेले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए। कोभिडको यस महामारीको समयमा झन रगतको अभाव हुनसक्ने भन्दै कोही कसैले रगत अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने भावनाका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको संस्थाका प्रमुख न्यौपानेले बताए ।

सो अवसरमा प्रमुख अतिथि टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल, विशिस्ट अतिथि टाेखा नगरपालिका वडा १० का अध्यक्ष मधुसूदन पाण्डे र टाेखा नगरपालिका वडा ११ का वडा अध्यक्ष उत्तम अधिकारीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्सले रक्त सञ्चार केन्द्रको सहकार्यमा गरेको रक्तदान कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्